काठमाडौंका मेयर बालेन कान्स फिल्म फेस्टिभलमा

Written by Bishal ghale

Updated on:



काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्। उनी फ्रान्सको कान्समा आयोजित हुने यस वर्षको फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्।

मेयर बालेन (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन्। उनका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहनेछन्।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी त्यता जान लागेका हुन्। फेस्टिभलमा तीन दिन बिताउने योजना रहेको बालेनले जनाएका छन्। उनको भेटवार्ता कान्सका मेयर र फेस्टिभल निर्देशकसँग तय भएको छ।

यस भेटमा उनी फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि सहभागी हुनेछन्। बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ।

युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ र कान्स पनि फिल्मको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो। यस भेटले दुवै सहरबीचको सांस्कृतिक र सृजनात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

यस वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालबाट कुनै फिल्म छनोट नभए पनि, नेपालमा छायांकन भएको ‘द सेमलेस’ र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन्।

महानगरपालिका आगामी वर्षदेखि फिल्म फेस्टिभलसहितका कार्यक्रम आयोजना गर्ने योजनामा जुटिरहेको छ। ७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ।

Leave a Comment